झापा (एजेन्सी) । बलिउड अभिनेत्री आमिर खान र किरण रावको १५ वर्ष पछाडि सम्बन्ध विच्छेद हुने भएको छ । यो आमिर खानको दोस्रो सम्बन्ध विच्छेद हो ।

आमिरको​ पहिलो पटक पहिलो श्रीमती रीना दत्तासँग सम्बन्ध विच्छेद भएको थियो । आमिर र किरणले संयुक्त विज्ञप्ति दिँदै दुवैको बाटो अलग हुन लागेको घोषणा गरेका हुन् । उनीहरुले आगामी दिनहरुमा पति पत्निको सट्टा अलग अलग जीवन जिउने घोषणा गरे ।

आमिर खान र किरण रावले दिएको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यी १५ वर्षमा एकसाथ जीवनभरीको अनुभव, आनन्द, खुशी शेयर गर्यौँ । हाम्रो सम्बन्ध विश्वास, सम्मान र प्रेमसँग एकसाथ अगाडि बढेको हो ।’

विज्ञप्तिमा अगाडि भनिएकाे छ, ‘अब हामी बाँकी जीवन नयाँ अनुभवका साथ अगाडि बढाउन चाहान्छौँ । तर, पति-पत्नी बनेर हैन सह मातापिता र परिवारको रुपमा । हामीले केही समय पहिलेदेखि अलग हुने योजना बनाएका हौँ । यसलाई औपचारिक रुप दिँदैछौँ ।’

उनीहरुले आगामी दिनमा पनि एकसाथ काम गर्ने घोषणा गरेका छन् । उनीहरुले आफ्ना सन्तानप्रति समर्पित हुने समेत बताएका छन् । उनीहरुले आफ्ना परिवार र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

किरण र आमिरको भेट फिल्मको सेटमा भएको थियो । उनीहरुको बिहे सन् २००५ डिसेम्बर २८ तारिखमा भएको थियो ।