एजेन्सी । लुक्स र फिगरका कारण सधैं चर्चामा आइरहने मोडल केटी प्राइसले हालै आफ्नो पूरा शरीरको सर्जरी गराएकी छिन्।

तर, उनले यो सर्जरी सुन्दरता बढाउनका लागि नभई दुर्घटनामा परी घाइते भएकाले गराएकी हुन्। गत अगस्टमा प्रेमी कार्ल उर्डस्का साथ छुट्टी मनाउन गएको समयमा उच्च स्थानबाट खसेर घाइते भएकी उनी लामो समयसम्म ह्विलचियरको मद्दतले हिँडडुल गर्ने गर्थिन्।

सर्जरीपछि हालै सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले आफ्नो सर्जरी निकै भयानक र दुखाइपूर्ण भएको बताएकी छिन्। ‘मेरो अवस्था निकै नाजुक थियो। तर, यतिको सम्म भएकी छु। सर्जरीपछि जब मैले आफ्नो अनुहार ऐनामा हेरेँ, त्यतिबेला कुनै हरर फिल्मको डरलाग्दो भूत जस्तो देखिएकी थिएँ ।’ उनले सुनाएकी थिइन् ।

उनले थपिन्, ‘मेरो पूरै शरीरभरि चोट नै चोट थिए र त्यसमा टाँका लगाइएको थियो। लडेर दुवै खुट्टा भाँचिएको थियो भने शरीरभरि लागेको चोटका कारण पूरै शरीरको उपचार तथा विशेषगरी ओठ, अनुहार र नाकको सर्जरी गर्नुपरेको थियो।’

सर्जरीपछि पनि आफू पहिलेको रूपमा फर्कन नसक्ने केटीले बताएकी छिन्। केही समयअघि प्रेमी कार्ल उर्डस्का साथ इन्गेजमेन्ट गरेकी ४२ वर्षीया केटीले यसभन्दा अघि नै तीनपटक विवाह गरिसकेकी छिन् भने उनको पाँच बच्चा रहेका छन्।