बिर्तामोड । द स्याडोज व्याण्ड र अनुप्रस्थ व्याण्डका कलाकार बिर्तामोडमा आउने भएका छन् । बिर्तामोडका गितारिस्ट राजु चौधरीको उपचार खर्च जुटाउनका लागि कलाकार आउन लागेका हुन् ।

विद्रोही रक स्टारको उपमा पाएका कलाकार स्याडोज व्याण्डका भोकलिस्ट स्वप्निल शर्मा र अनुप्रष्थका भोकलिस्ट निरन शाही बिर्तामोड आउने भएका हुन् ।

ए प्लास्टिक एनिमियाबाट पीडित चौधरीको उपचारका लागि सहयोग जुटाउन उनीहरुले झापाका ४ स्थानमा सांगीतिक प्रस्तुति दिनेछन् । उनीहरु आफैँले पनि विभिन्न माध्यमबाट सहयोग जुटाइरहेका पनि छन् ।

फर राजु चौधरी अभियानलाई पनि सहयोग जुटाउन उनीहरु झापा आउन लागेको अभियानका सदस्य विशाल अग्रवालले बताए । उनका अनुसार भोलि (शनिबार) बिर्तामोडको मेघा कम्प्लेक्स अगाडि सांगीतिक कार्यक्रम हुनेछ ।

त्यसैगरी, भोलि नै काँकरभिट्टामा दोस्रो प्रस्तुति हुने तय भएको छ । यसैगरी, आइतबार दमक र बुधबारेमा पनि उनीहरुको प्रस्तुति हुने बताइएको छ ।

‘म्यूजिसियन फर म्यूजिसियन’ नारा दिइएको कार्यक्रममा उनीहरुको प्रस्तुतिसँगै स्थानीय कलाकारहरुले पनि साथ दिने भएका छन् ।

कार्यक्रम सम्पन्न गर्नका लागि एमकेके ग्रुप, नेप्लिज टिन्स, दारी ग्याङ, इलाइट युथ क्लब बटारे, युथ फर सोसियल ट्रान्सफरमेसन, युवा, नोलेउम, काँकरभिट्टा संगीतकर्मी परिवार, पूर्वाञ्चल रक्स दमक र बक्सर ब्वाइज बुधबारे सक्रियरुपमा लागेका छन् ।

विराटनगर, बिर्तामोड र काठमाडौँमा उपचार गराइरहेका राजुको थप उपचार गर्नका लागि केही दिनअघि मात्र भारतको दिल्ली लगिएको छ ।