बिर्तामोड । नेपाली चलचित्र ‘चिसोएष्ट्रे’ आगामी चैत्र ४ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शनमा आउने भएको छ । चलचित्र युनिटले ‘होलीको भोलि चिसोएष्ट्रे भने पनि तराई भेगमा होलीकै दिन प्रदर्शनमा आउन लागेको हो ।
चलचित्र निर्माण टोलीले शुक्रबार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै चलचित्र चिसोएष्ट्रेका विषयमा जानकारी गराउँदै उपत्यकामा होलीको भोलिपल्ट अर्थात् चैत ४ गते प्रदर्शनमा आउन लागेको जनाएको हो । चलचित्र चिसोएष्ट्रेको प्रवद्र्धनका लागि निर्माण टोलीसहित आएका कलाकारले चलचित्रका बिषयमा जानकारी दिएका थिए ।
कंगारु क्रिएशन एण्ड लोकल सिनेमा प्रोडक्शनले क्रिएटिभ नेपाल फिल्मसँग संयोजन गरी चलचित्र निर्माण गरेको चलचित्रका निर्माता महेशबाबु तिम्सिनाले जानकारी दिए । दिनेश पाल्पालीको निर्देशनमा बनेको चलचित्र चिसोएष्ट्रेको सहनिर्देशकमा नविन ढुङ्गाना रहेका छन् ।
आधुनिक विषयवस्तु समेटेर तयार भएको चलचित्र करिब २ करोडको लगानीमा निर्माण भएको निर्माता तिम्सिनाले बताए । अन्य नेपाली चलचित्रको निर्माणमा भन्दा बढी खर्च भएको युनिटको दाबी छ । चलचित्रमा दिब्य देव, निकुन श्रेष्ठ, नविन लम्साल, सृष्टि श्रेष्ठ, सुशिलराज पाण्डे, रोविन तामाङ, इभोन जोशी, रिनेक्स बस्नेत, कृषा शाहीलगायतको अभिनय रहेको जनाइएको छ ।
काठमाडौँ उपत्यकालाई दृष्टिगत गरि कवि भूपि शेरचनद्वारा रचित चिसोएष्ट्रे कवितामाथि चलचित्रको कथा रहेको बताइएको छ । काठमाडौँमै छायांकन गरिए पनि उपत्यका बाहिरका दर्शकले यो चलचित्र बढी मन पराउने युनिटको आशा छ ।
पत्रकार भेटघाटका क्रममा कलाकार निकुन श्रेष्ठ र सृष्टि श्रेष्ठसमेतले चलचित्रका विषयमा आफ्ना भनाइ राखेका थिए ।