काठमाडौँ । दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’ ले नेपाली हलमा रातभर हंगामा मच्चाएको धेरै भएको छैन । ‘आरआरआर’ ले पनि नेपाली बक्स अफिसमा राम्रो कमाइ गर्यो । विदेशी मात्रै होइन, नेपाली फिल्मले पनि हाउसफुल दर्शक पाउँछन् भन्ने पछिल्लो उदाहरण बनेको छ, ‘कबड्डी ४’ । फिल्मका निर्देशक रामबाबु गुरुङ र वितरक गोविन्द शाहीको दाबी मान्ने हो भने फिल्मले पहिलो दिन सबैभन्दा ठूलो व्यापार गर्ने रेकर्ड बनाएको छ ।
‘नेपाली फिल्ममा यस्तो ओपनिङ मैले देखेकै थिएन,’ हिन्दी फिल्मका वितरक मनोज राठी भन्छन्, ‘एड्भान्स बुकिङमा जुन हिसाबको भीड थियो, म त अचम्म परें । मल्टिप्लेक्समा जति शो छ, त्यसमा शतप्रतिशत अकुपेन्सी छ ।’ यसलाई घरेलु फिल्मको शक्ति ठान्छन् उनी । ‘विदेशी फिल्मले नेपाली चल्न दिएन भनेर रोइकराइ गर्छन् । हिन्दी डब ल्याउनु भएन भन्छन्,’ राठीले भने, ‘यस्तो फिल्मले विदेशी फिल्मलाई पाखा लगाइदिँदो रहेछ । राम्रो फिल्म बनायो भने हिन्दी फिल्म नै आउँदै नि ।’ कोभिडपछि प्रदर्शनमा आएका पुष्पा, केजीएफ र आरआरआरले कबड्डी जतिको व्यापार नगरेको उनले बताए ।
राठीले उपत्यकाबाहिरको वितरण हेरेका छन् । फिल्मले मोफसलबाट पहिलो दिन डेढ करोडको व्यापार गरेको उनको अनुमान छ । ‘कबड्डी ४’ का अर्का वितरक गोविन्द शाहीका अनुसार फिल्मले सबैभन्दा धेरै मल्टिप्लेक्स च्यानल रहेको क्यूएफएक्समा शुक्रबार १ सय ७ शो प्राप्त गर्यो । यसअघि १ सय ५ शो दिएकामा पछि बढाएर १ सय ७ पुर्याइएको हो । यो संख्या आइतबारसम्म बढ्ने देखिन्छ । फिल्मले पहिलो दिन नेपालभरबाट साढे तीन करोडको व्यापार गरेको आकलन गरिएको शाही बताउँछन् । उनका अनुसार आइतबारसम्म लगभग सबै टिकट ‘सोल्डआउट’ भइसकेका छन् ।
‘नेपालको फिल्म इतिहासमा यस्तो व्यापार यसअघि कुनै फिल्मले गरेकै थिएन । पहिलो दिन न हलिउडले गरेको छ न बलिउडले । कबड्डीले त यसपालि इतिहास रच्यो,’ शाहीले भने ।
कोभिडपछि फिल्म बजार डिजिटल प्लेटफर्ममा मौलाउन थालेको छ । यद्यपि नेपालमा यो प्लेटफर्म फिल्म प्रदर्शनको खासै विकल्प बन्न सकेन । हलमा बसेर फिल्म हेर्नुको स्वाद दर्शकले नबिर्सिदिएकै कारण यो सफलता हासिल गरेको बताउँछन्, फिल्मका निर्देशक रामबाबु गुरुङ । ‘रेकर्ड तोडेको कुरा त्यति महत्त्वपूर्ण होइन । रेकर्ड त बन्दै जाने हो, तोडिँदै जाने हो,’ उनले भने, ‘खुसीको कुरा, दर्शकमा हलसम्म आएर फिल्म हेर्ने रहर मरेको छैन रहेछ ।’
फिल्ममा तीन करोडको लगानी गरिएको भनिएको छ । निर्देशक गुरुङका अनुसार रिलिजअगाडि नै फिल्मले डिजिटल राइट्स र ओभरसिज राइट्स (विदेश व्यापार) बाट लगानी उठाइसकेको छ । पहिलो सिरिज विदेशमा अत्यधिक प्रदर्शन भएकैले चौथो सिरिजले डायस्पोरामा राम्रो शो पाएको छ ।
कोभिडले नेपाली फिल्म क्षेत्र धराशायी बनेको चिन्ताका बीच कबड्डीले माहोल बनाइदिएको निर्देशक दीपेन्द्र के खनाल बताउँछन् । ‘यसरी दर्शकको भीड देख्दा फिल्मकर्मीको हिसाबले खुसी छु,’ उनले भने, ‘म त कोभिडबीच पनि आत्तिएको थिइनँ । अर्कै पेसा रोज्न थाल्नुपर्ने पो हो कि भन्ने समयमा म फिल्म बनाउनतिर लागें ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।