बिर्तामोड । जुम्लाको कथा बोकेको नेपाली चलचित्र ‘प्रकाश’ आउँदो भदौ १० गतेदेखि नेपाली सिनेमा हलहरुमा एकैसाथ प्रदर्शनमा आउने भएको छ । चलचित्र युनिटले आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी चलचित्रबारे जानकारी गराएको हो ।

 

चलचित्रका नायक प्रदिप खड्कासहितको टोलीले आयोजना गरेको पत्रकार सम्मेलनमा जुम्लेली जनजीवन समेटिएको चलचित्र ‘प्रकाश’मार्फत् नेपाली समाजको यथार्थता देखाउन खोजिएको बताइयो । दिनेश राउतको निर्देशनमा बनेको चलचित्रको अवधि २ घण्टा रहेको छ ।

 

चलचित्र ‘प्रकाश’मा सुदूरपश्चिमको एउटा आम शिक्षकले गर्ने संघर्षको कथाको छोटो अंश देख्न सकिने नायक खड्काले बताए । सुदूरपश्चिमेली भाषा, परिवेशको पाटोमा पनि फिल्मले काम गरेको उनको भनाइ छ । चलचित्र ‘प्रकाश’ करिब २ करोड ५० लाखको लगानीमा निर्माण भएको बताइएकाे छ । कार्यक्रममा नायक खड्कासँगै चलचित्रकी नायिका दिया मास्के र कलाकार रानु योगीको समेत उपस्थिति रहेको थियो ।

 

चलचित्रमा नायक प्रदीप खड्काले सुदूरपश्चिम क्षेत्रका एक शिक्षकको भूमिका निर्वाह गरेको बताए। प्रदीपसँगै चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसीलगायतका कलाकारको अभिनय रहेको छ। विकास सुवेदीको लेखन रहेको सो चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्।