शनिश्चरे । झापाको अर्जुनधारा नगरभित्र रहेका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले अर्जुनधारा डान्स एण्ड सिङ्गिन स्टार २०७९ को तयारी थालिएकाे छ । अर्जुनधारा ३ स्थित खुदुनाबारीमा रहेको सारेगम कला केन्द्रको आयोजनामा प्रतिभाको खोजी हुने भएको हो ।

 

कार्यक्रमबारे जानकारी दिन शनिबार शनिश्चरे बजारमा आयोजित पत्रकार सम्मेलनमा गायन तथा नृत्य क्षेत्रमा कला र प्रतिभा भएर पनि मञ्च नपाएर बसिरहेका बालबालिका तथा युवालाई लक्षित गरिएको केन्द्रका अध्यक्ष सन्तोष आलेले बताए ।

 

कार्यक्रमले नेपाली लोक कला, साहित्य संगीत तथा संस्कृतिको संरक्षण सँगै संगीतको माध्यमबाट युवाहरुलाई कुलतमा लाग्न बाट जोगाउने उद्देश्यले आयोजना गरिएको बताइएको छ । कार्यक्रमका लागि चैत २९ गतेदेखि वैशाख ३ गतेसम्म नगरका ४ वटा वडामा अडिसन हुनेछ ।

 

सबैको लागि खुला गरिएको कार्यक्रमको अडिसनबाट दोस्रो चरणका लागि ११० जना, तेस्रो चरणका लागि ५० जना र चौथो चरणका लागि २५ जना छनौट हुने छन् । वैशाख ३० गते अर्जुनधारा ७ स्थित लंका रिसोर्टमा हुने फाइनलको लागि २५ जनामध्ये चार जना छनौट हुनेछन् ।

 

छनौट भएका टप २५ जनाको प्रस्तुति युट्युबमार्फत् सार्वजनिक गर्दै उनीहरुले प्राप्त गर्ने भ्यूजको आधारमा पनि अंक दिइने बताइएको छ । दुवै विधाका विजेता र उपविजेता हुने सहभागीले क्रमश जनही ३० हजार र २० हजार रुपैयाँ, प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने छन् ।

 

चौथो चरणसम्मका निर्णायकहरु गायनतर्फ दिपक रायमाझी, कमला नेम्वाङ र सरोज दाहाल तथा नृत्यतर्फ राज सुब्बा, रोहित लाम्गादे र अञ्जली माझी रहनेछन् । फाइनलको लागि राष्ट्रियस्तरका निर्णायकहरु रहने बताइएको छ ।

 

अर्जुनधारा सचेत युवा समूह र डी वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड सहआयोजक रहेका छन् भने अर्जुनधारा नगरपालिका विशेष सहयोगी रहेको उक्त कार्यक्रमको अनुमानित लागत सात लाख २५ हजार रुपैयाँ रहेको प्रस्तुत प्रस्ततावमा उल्लेख गरिएको छ ।

 

यसैबीच कार्यक्रमलाई सफल बनाउन अर्जुनधारा ८ वडा कार्यालयले कार्यक्रम अवधिभरका लागि आयोजकलाई सचिवालय सञ्चालन गर्न वडा कार्यालयमा एउटा कोठाको व्यवस्था र एक दिनको अडिसन कार्यक्रमको सम्पूर्ण खर्च सहयोग गर्ने भएको छ ।

 

पत्रकार सम्मेलनमा वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गायन तथा नृत्यको माध्यमबाट आयोजकले गर्न लागेको उदाहरणीय एवम् सकारात्मक कार्यको प्रबद्र्धन गर्न आफूले उक्त सहयोग गरेको वडाध्यक्ष उप्रेतीले बताए ।

 

अध्यक्ष आलेको अध्यक्षतामा आयोजित कार्यक्रममा शनिश्चरे माध्यमिक विद्यालयका पूर्वशिक्षक कृष्ण पौडेल, कलाकारहरु हस्त परियार, रेवत मगरलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अर्जुनधारा सचेत युवा समूहका उपाध्यक्ष शीतल कार्कीले गरेका थिए ।