खुदुनाबारी । अर्जुनधारा सिङ्गिङ एण्ड डान्सिङ स्टार २०७९ को उपाधि सञ्जिव भूर्तेल र आकृति तामाङले जितेका छन् । स्थानीयस्तरमा रहेका प्रतिभाको उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा गायनतर्फ भूर्तेल र नृत्यतर्फ तामाङले उपाधि जितेका हुन् ।

 

अर्जुनधारा ३ खुदुनाबारीस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा शनिबार राति अबेर सम्पन्न ग्रान्ड फिनालेमा उत्कृष्ट १० बाट अर्जुनधारा ६ का भूर्तेल र अर्जुनधारा २ की तामाङले उपाधि जितेका हुन् । जितसँगै दुवै विधाका विजेताले जनही नगद पुरस्कार ३० हजारसहित प्रमाण पत्र र शिल्ड प्राप्त गरे ।

 

त्यसैगरी कार्यक्रममा नृत्य विधाकी विजेता तामाङलाई स्थानीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालयले कक्षा ११ र कक्षा १२ मा पूर्ण छात्रवृत्ति प्रदान गर्ने विद्यालयका प्रबन्ध निर्देशक बालगोपाल गौतमले घोषणा गरे । उनी अहिले कक्षा १० मा अध्ययनरत छिन् ।

 

त्यसैगरी गायनतर्फ अजुृनधारा ८ की यमुना तिवारी दोस्रो भइन् भने अर्जुनधारा १ का अभिषेक मगर तेस्रो भए । अर्जुनधारा १ कै हविस भट्टराईले सान्त्वना पुरस्कार जिते । नृत्यतर्फ अर्जुनधारा ६ का अंकित कोइराला दोस्रो हुँदा अर्जुनधारा ५ का विशेष चौधरी तेस्रो भए । अर्जुनधारा ३ की लुजा मगरले सान्त्वना पुरस्कार पाइन् ।

 

दुवै विधाका दोस्रो, तेस्रो र सान्त्वना हुने विजेतालाई जनही क्रमशः नगद पुरस्कार २० हजार, १० हजार र तीन हजारसहित प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । यता टप टेनमा पुग्न सफल दुवै विधाका सहभागीहरुलाई पनि सहभागिताको प्रमाण पत्र र शिल्ड प्रदान गरिएको थियो । ग्रान्ड फिनालेका निर्णायकहरु गायनतर्फ कमला नेम्वाङ र दिपक रायमाझी तथा नृत्यतर्फ अमन गुप्ता र राज लावती रहेका थिए ।

 

आयोजक सारेगम कला केन्द्रका अध्यक्ष सन्तेष आले मगरको अध्यक्षतामा आयोजित सोही कार्यक्रममा विभिन्न व्यक्तित्वलाई नगद तथा सम्मान पत्रबाट सम्मान गरिएको थियो । सोही कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन २ का सेकेन्ड रनरअप योगेश मगर, प्रथम माई नगरपालिकाकी आइडल शान्ता थेगिम लिम्बू, हास्य कलाकार राकेश कमेडीलगायतको प्रस्तुति रहेको थियो ।

 

अर्जुनधारा सचेत युवा समूह र डि वल्र्ड डान्स कम्पनी एण्ड साउण्ड सहआयोजक रहेको उक्त प्रतियोगिताको अडिसन राउण्ड गत चैत २८ देखि शुरु भएको थियो । एक सय जनाभन्दा बढीको सहभागिता रहेको प्रतियोगिताको फस्ट राउण्ड र सेमी राउण्डबाट ग्रान्ड फिनालेका लागि दुवै विधातर्फ टप टेन छनौट गरिएको आयोजक केन्द्रका अध्यक्ष आलेले जानकारी दिए । केन्द्रका सल्लाहकार शिव सेढाईंले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अभिषेक विक र सोफिया आङदेम्बेले गरेका थिए ।

 

यसैबीच, नृत्यतर्फ चौथो भएकी लुजा मगरको अभिभावकले प्रतियोगिताको निर्णयप्रति असन्तुष्टि जनाउँदै पुरस्कार रकम मगरकी आमा लक्ष्मी राई मगरले आयोजकलाई अमर्यादित शैलीमा फिर्ता गरेकी थिइन् ।

 

त्यसैगरी कार्यक्रम सञ्चालन भइरहँदा मगरले प्राप्त गरेको सहभागीतर्फको शिल्ड पनि मञ्चतर्फ फँयाकिएको थियो । ग्रान्ड फिनालेमा सहभागीहरुले गरेको प्रस्तुतिको आधारमा निर्णायकहरुले निर्णय गरेको हुँदा सहभागी लुजाकी अभिभावकले त्यसो गर्नु दुःखद कार्य भएको आयोजक केन्द्रका अध्यक्ष आलेले बताए ।