मेचीनगर । मेचीनगर १० धुलाबारीस्थित एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर ८ वर्षीय एक बालक गम्भीर घाइते भएका छन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ ।

 

धुलाबारीस्थित सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को शौचालयको सेफ्टी ट्यांकीमा डुबेर मेचीनगर १० ओम शान्तिका तान्चोक लिम्बू गम्भीर घाइते बनेका हुन् । उनको अवस्था चिन्ताजनक छ भने विर्तामोडस्थित बीएण्डसी अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।

 

आज दिउँसो १२ः३० बजे खाजा खाइसकेपछि बालकलाई कोठामा नभेटिएको र खोजी गर्दा सेफ्टी ट्यांकीमा डुबेर बेहोस अवस्थामा भेटिएको मन्टेश्वरीकी व्यवस्थापक अनिसा पोख्रेलले बताइन् । मन्टेश्वरीले सेफटी ट्यांकी सुरक्षामा गम्भीर लापारवाही गरेको देखिएको छ ।

 

सेफ्टी ट्यांकीमाथि मक्किएको प्लाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको मेचीनगर १० का वडाध्यक्ष नारायण खनालले बताए । ‘ससाना नानीहरुलाई सिकाउने ठाउँमै यस्तो लापरवाही गरिएको छ, सेफ्टी ट्यांकीजस्तो कुरामा हेल्चेक्र्याई छ’, उनले भने ।

 

२०७० सालमा स्थापना भएको यस मन्टेश्वरीमा अहिले ६३ जना नानीहरु अध्यनरत् छन् । पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङ हुन् । घटनापछि उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।