खुदुनाबारी (झापा) । वसन्त पञ्चमीको अवसरमा अर्जुनधारा जेसीज शनिश्चरे शाखाले बुधबार झापाको अर्जुनधारा २ गाँजाबारीस्थित नवज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ ।

 

विद्यार्थीहरुको पठनपाठनमा हौसला प्रदान गर्ने उद्देश्यले विद्यालयका ९० जना विद्यार्थीलाई कापी २८८ थान, बलपेन २०० वटा, पेन्सिल ५०० वटा, अंग्रेजी र नेपाली वर्णमाला २ थान, फुटबल १ थान, ब्याडमिन्टन (कर्क १ रोलसहित) १ थान वितरण गरिएको अर्जुनधारा जेसीज वर्ष २०२४ का अध्यक्ष वसन्त बुढाथोकीले जानकारी दिए ।

 

अध्यक्ष बुढाथोकीको अध्यक्षता र कार्यक्रम संयोजक एवम् उपाध्यक्ष सागर घिमिरेको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वडा सदस्यद्वय प्रेम उपरकोटी र शर्मिला सुब्बा, शाखाका पूर्व अध्यक्ष दिपीन राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र कोइरालालगायतले उक्त सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

 

यसैबीच, विद्यार्थीहरुलाई शैक्षीक सामग्री वितरण गरेर पढ्न, लेख्न हौसला प्रदान गरेको भन्दै विद्यालयले अर्जुनधारा जेसीजलाई सम्मान गरेको छ । अध्यक्ष बुढाथोकीलाई प्रमुख अतिथि अर्जुनधारा २ का वडा अध्यक्ष श्रेष्ठले गाउँसम्म आएर विद्यार्थीको मन जित्न सफल भएको भन्दै सम्मान गरेका थिए ।

 

विद्यालयका प्रअ लोकनाथ कोइरालाले जेसीज गाँउ गाँउ प्रवेश गरेर युवा शक्तिलाई नेतृत्व प्रदान गर्न शुभकामना दिएका थिए । शाखाका कार्यकारिणी उपाध्यक्ष भवानी बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव मनोज सिटौलाले गरेका थिए ।